Image description

लक्ष्मण दंगाल/संवाददाता

१ चैत २०८०, बिहिवार

अपाङ्गता भएका बालिका र युवा महिलाको समावेशी शिक्षा र प्रविधिमा पहुँच विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । डिस्याबिलिटी राइट्स फन्डको सहयोगका एक्सेस प्लानेटले सो अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो । 
यही फागुन २८ गते सोमबार काठमाडौँको नयाँ बानेश्वरमा भएको कार्यक्रममा विभिन्न वक्ताहरूले आफ्ना धारणाहरू राख्नुका साथै अपाङ्गता भएका बालिका र युवा महिलाको अवस्था तथा नीतिगत विषयहरू समावेश गरिएको दुई वटा अनुसन्धानमूलक पुस्तिका सार्वजनिक गरिएको थियो । 
एक्सेस प्लानेटका अध्यक्ष गार्गी नेपालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति सदस्य दिपा शर्मा प्रमुख अतिथि र राष्ट्रिय सभा सदस्य पदम परियार अतिथिका रूपमा रहेका थिए । उनीहरूले एक्सेस प्लानेटले तयार गरेको दुई वटा अनुसन्धानमा आधारित ‘अपाङ्गता स्रोत पुस्तिका र नीति विश्लेषण’ र अर्को ‘समावेशी शिक्षाको अधिकार’ पुस्तिका सार्वजनिक गरेका थिए । 


सो अन्तर्क्रिया कार्यक्रममा शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति सदस्य दिपा शर्माले विद्यालय शिक्षा लिन अपाङ्गता भएका बालबालिकालाई कठिनाइ भएको उल्लेख गर्दै अहिले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको संसदीय समितिमा छलफलको क्रममा रहेको र त्यसमा समावेशी शिक्षाका अधिकारहरू सुनिश्चित गर्नुपर्ने बताइन । सांसद शर्माले विद्यालय शिक्षा विधेयकमा विभिन्न अपाङ्गताका क्षेत्रमा काम गर्ने संस्थाहरूले दिएको सुझाव समावेश गर्ने प्रतिबद्धता व्यक्त गरिन । 


उनले समावेशी सहज शिक्षा व्यवस्थाका लागि विद्यालय शिक्षा विधेयकमा ठोस रूपमा अधिकार सुनिश्चित गर्नुको विकल्प नभएको बताइन । 
कार्यक्रममा राष्ट्रिय सभा सदस्य पदम परियारले संक्षिप्त मन्तव्य राख्दै समुदायमा अपाङ्गता भएका व्यक्तिहरू धेरै रहेको उल्लेख गर्दै  उनीहरूको समस्या समाधान गर्नका लागि आवश्यकताको प्राथमिक करण गरेर काम गर्न आवश्यक रहेको बताए । 
उनले अपाङ्गता भएका व्यक्तिहरूका समस्या समाधानका लागि नीति निर्माण गरेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा शिक्षा मन्त्रालयका अधिकृत लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सुलोचना खनाल, मुकुन्द दाहाल लगायतका सहभागी व्यक्तित्वहरू सहितको प्यानल डिस्कसन गरिएको थियो । 
एक्सेस प्लानेटकी निर्देशक लक्ष्मी नेपालले सहजकर्ताको भूमिका निर्वाह गर्दै प्यानलिष्टहरुलाई विभिन्न प्रश्नहरु गरेकी थिइन । प्यानल डिस्कसनमा निर्देशक नेपालले हाम्रो देशमा अपाङ्गता भएका बालिका र महिला युवाको अवस्था कस्तो छ ? उनीहरूको चुनौती कस्तो छ ? लगायत विभिन्न विषयमा सहभागीहरुलाई प्रश्न गरेकी थिइन । 


प्यानल डिस्कसनबाट अपाङ्गता भएका बालबालिकालाई घरमा अपाङ्ग मैत्री वातावरण नभएको, अपाङ्गता भएका बालबालिकालाई पढाउन शिक्षक नै सचेत नभएको लगायतका विषयमा छलफल भएको थियो । छलफलबाट अपाङ्गता भएका व्यक्तिलाई अघि बढाउन नीतिगत कुरामा बहस पैरवी अगाडि बढाउनुपर्ने, स्थानीय सरकारले अपाङ्गता भएका विषयमा विभिन्न कार्यक्रमहरू अगाडि बढाउनुपर्ने, तीन तहका सरकार बिच नेटवर्क बनाएर काम गर्नुपर्ने लगायतका विषयमा निचोड निस्किएको थियो ।
कार्यक्रममा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि, अधिकारकर्मीका साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।