मित्रताको वास्तविक मूल्य : यस्ता छन् मित्रताका प्रकार

नयाँ पोस्ट
२६ असोज २०८२, आइतबार

-ई.किरण घिमिरे
-तेजनाथ दंगाल
साथी वा मित्र भन्नाले जीवनमा विशेष स्थान ओगट्ने आत्मीय व्यक्तिलाई बुझिन्छ। मित्रता कुनै स्वार्थ वा जबर्जस्तीमा नभई विश्वास,आदर र आत्मीयताको आधारमा टेकेको हुन्छ।जीवनका सुख-दुःख,रहस्य,अनुभव र लक्ष्यहरू सहजै बाँड्न सकिने व्यक्तिलाई नै साथी मानिन्छ।कठिनाइ र चुनौतीका क्षणमा पनि साथ नछोड्ने र हौसला प्रदान गर्ने नै वास्तविक साथी हुन्।साथी वा मित्र प्रतिको दृष्टिकोण प्रत्येकको अनुभव र आवश्यकता अनुसार फरक-फरक हुन सक्छ।कसैका लागि साथी रमाइलो र मन हल्का पार्ने आधार हुन्छन् भने कसैका लागि सल्लाह दिने मार्गदर्शक, आत्मबल बढाउने प्रेरणा स्रोत वा आत्मिक आधार पनि बन्न सक्छन्।साथी भनेको जीवनयात्रामा साथ दिई,मन बुझी,सहकार्य र प्रेरणा प्रदान गर्ने साथै सुख-दुःखमा साझा बन्ने व्यक्तिलाई बुझिन्छ।साथी अर्थात् मित्र जीवनको त्यो अमूल्य सम्पत्ति हो जसले सुखमा साथ दिन्छ, दुःखमा सहारा दिन्छ र आत्म-चिन्तनमा मार्गदर्शन गर्छ। मित्रताको स्वरूप युग अनुसार बदलिएको भए पनि यसको मूल भावना स्थायी छ।
पंडित विष्णु शर्माले रचेको पञ्चतन्त्र जीवनदर्शनको गहन ग्रन्थ पनि हो।यसमा मित्रताको पाँच भिन्न रूपको वर्णन गरिएको छ जसले साथीको मूल्याङ्कन गर्न सहयोग पुर्‍याउँछ।यसैसँगै हामी हाल कुन प्रकारका साथीहरूको संगतमा छौं भन्ने कुरा आत्ममूल्यांकन गर्न पनि यसले मार्गदर्शन प्रदान गर्छ।
१) सहायक मित्र:सहायक मित्र भन्नाले त्यस्तो साथीलाई बुझिन्छ जसले कठिन परिस्थिति वा संकटका बेला साथ दिन्छ र वास्तविक सहयोग पुर्‍याउँछ।जीवनमा सुखद अवस्थामात्र नभई दुःखद घडी पनि आउँछन्।यस्ता बेला हामीलाई सम्झने, बल दिने र हाम्रो पक्षमा उभिने साथी नै साँचो सहायक मित्र हुन्छ।

२) सहभागी मित्र: सहभागी मित्र भन्नाले जीवनका प्रत्येक उतार-चढावमा साथ दिने साथीलाई बुझिन्छ। यस्तो मित्र सुखका क्षणमा मात्र नभई दुःखको क्षणमा पनि उस्तै नजिक रहन्छ।सामान्यतया, मानिसहरू रमाइलो र लाभ हुने बेला वरिपरि भेला हुन्छन् तर जब कठिनाइ आउँछ, धेरै साथीहरू टाढा जान्छन्।तर परिस्थिति जस्तो भए पनि आत्मीयता र निष्ठामा स्थिर रहने र हरेक खुसीलाई आफ्नै खुसी मान्ने र हरेक पीडालाई आफ्नै पीडा ठान्ने साथीहरु यस अन्तर्गत पर्दछन।जब हामी सफल हुन्छौं, उनीहरू हर्ष व्यक्त गर्छन् जब असफलताले थिच्छ, उनीहरू नै प्रोत्साहन गर्न, सहयोग गर्न तथा सल्लाह दिन अगाडि आउँछन् र अरु केहि गर्न नसकेमा सान्त्वना भए पनि दिन्छन्।यस्तो मित्रताको सम्बन्ध सामयिक लाभ वा मनोरञ्जनमा आधारित हुँदैन, बरु विश्वास, आपसी समझदारी र आत्मीय सहानुभूतिमा गहिरो भएर गाँसिएको हुन्छ।यस प्रकारका मित्रहरूले जीवनलाई सन्तुलित र सहज बनाउँछन्।कुनै पनि अवस्था आए पनि हामीसँग एक-अर्कामा भर पर्न सक्ने आधार छ।यही कारणले सहभागी मित्रलाई मित्रताको सर्वोच्च आदर्श मानिन्छ।

३) विश्वासपात्र मित्र: विश्वासपात्र मित्र भन्नाले त्यस्तो साथी हो जसलाई हामीले निःसंकोच आफ्ना गोप्य कुरा भन्न सक्छौं र उनीहरुले ती कुरा गोप्य वा सुरक्षित राख्ने गर्छन्।जीवनमा प्रत्येक व्यक्तिसँग आफ्ना कमजोरी, संवेदनशील अनुभव र व्यक्तिगत पीडाहरू हुन्छन्।यस्तो बेला विश्वासपात्र मित्र नै त्यो आत्मीय व्यक्तिको रूपमा रहन्छ र उससंग कुरा गर्दा मन हल्का हुन्छ साथै हाम्रो विश्वासलाई कहिल्यै भंग हुन दिदैन।विश्वासपात्र मित्र कुरा सुन्नु का साथै आवश्यक परे उचित सल्लाह पनि दिन्छ।तर उसको विशेषता भनेको गोपनीयता जोगाउने क्षमता हो।अरूलाई नकारात्मक असर नपार्ने गरी गुप्त कुरा हृदयमा सुरक्षित राख्न सक्ने गुण उसमा हुन्छ।त्यसैले यस प्रकारको मित्रसँगको सम्बन्ध अझ गहिरो, स्थायी र आत्मिक स्तरमा मजबुत हुन्छ।यस्ता साथीहरू जीवनमा दुर्लभ हुन्छन् तर पाउँदा अमूल्य धरोहर जस्तै हुन्छन्।उनीहरूको मौनता र निष्ठाले हाम्रो विश्वासलाई मजबुत बनाउँछ र मित्रताको असली अर्थ प्रकट गर्छ।

४) सत्यवादी वा सत्यवक्ता मित्र: सत्यवादी वा सत्यवक्ता मित्र भन्नाले सधैं सत्य बोल्ने, वास्तविकता देखाउने र ढाँटेर वा चाप्लुसी गरेर होइन, साँचो कुरा प्रस्तुत गर्ने साथीलाई जनाइन्छ।यस्तो मित्रसँग रहँदा कहिलेकाहीँ उसको बोली कठोर वा अप्रिय लाग्न सक्छ, तर उसको उद्देश्य हाम्रो हितमै केन्द्रित हुन्छ। जीवनमा हामी प्रायःप्रशंसा र मिठा शब्द सुन्न चाहन्छौं, तर सत्यवादी मित्र भने हाम्रो कमजोरी, त्रुटि वा गलत निर्णयलाई निसंकोच औँल्याउँछ।सत्यवादी मित्रको विशेषता भनेको ईमानदारी हो।ऊ हामीलाई तत्काल नरमाइलो लागे पनि सही बाटोतर्फ प्रेरित गर्न खोज्छ।उसका शब्दहरू चाखलाग्दो भन्दा बढी आवश्यक हुन्छन् किनभने ती सन्देशहरूले हाम्रो चरित्र, निर्णय र जीवनयात्रालाई सही दिशामा अघि बढाउन सहयोग पुर्‍याउँछन्।यस्तो मित्र हरेक अवस्थामा सहमत नहुन सक्छ तर उसको असहमति नै हाम्रो लागि मार्गदर्शक बन्न सक्छ।यस प्रकारको मित्रता साँचो र स्थायी हुन्छ किनभने यो मिठा झूटमा होइन, अप्रिय तर उपयोगी सत्यमा टेकेको हुन्छ।त्यसैले सत्यवादी मित्र जीवनमा दर्पण झैं हुन्छन् जसले हामीलाई हाम्रो वास्तविक अनुहार देखाउँछ र सुधारतर्फ उन्मुख गराउँछ ।

५) स्थायी वा स्थिरमति मित्र: स्थायी वा स्थिरमति मित्र भन्नाले समय, परिस्थिति वा लाभ-हानि जस्तोसुकै भए पनि आफ्नो सम्बन्धमा स्थिर रहने साथीलाई बुझिन्छ।यस्तो मित्रताको आधार स्वार्थ वा अस्थायी सुविधा होइन, बरु गहिरो आत्मीयता, निष्ठा र दीर्घकालीन प्रतिबद्धता हुन्छ।जीवनमा समयसँगै धेरै कुरा बदलिन्छन् हाम्रो सामाजिक हैसियत, आर्थिक स्थिति, सफलता-असफलता, यहाँसम्म कि हाम्रो सोच समेत। तर स्थायी मित्र भने यी सबै परिवर्तनका बीच पनि अडिग रहन्छ।ऊनीहरू न त सुखमा मात्र नजिकिन्छन्, न त दुःखमा टाढा हुन्छन्।बरु परिस्थिति जस्तो भए पनि एउटै आत्मीय भावनाले साथ दिन्छन्।यस्तो मित्र जीवनभरको यात्रा साथ दिने आधार स्तम्भ जस्तै हुन्छ जसलाई समयले कमजोर पार्दैन।स्थिरमति मित्रलाई जीवनमा एक अमूल्य सम्पत्ति मानिन्छ किनकि उनीहरू असल सम्बन्धको साँचो स्वरूपलाई जोगाइराख्छन्।स्थायी मित्र नै त्यो साथी हो जसले हामीलाई परिस्थिति अनुसार बदलिँदैन र जसको आत्मीयता जीवनभर अपरिवर्तित रहन्छ।
सनातन धर्म ग्रन्थहरुमा मित्रतालाई सामाजिक सम्बन्धका रूपको साथै आत्माको गहिरो स्तरमा आधारित एक आध्यात्मिक सम्बन्ध रुप पनि हो भनेर बुझिन्छ।मित्रता आत्मीयता, विश्वास र निष्ठाको धागोले गाँसिएको सम्बन्ध हो, जसले व्यक्तिगत जीवनलाई सहज बनाउँदै आध्यात्मिक यात्रालाई पनि दृढ बनाउँछ।भगवद्गीता ,महाभारत तथा रामायण जस्ता ग्रन्थमा समेत मित्रताको बारेमा केहि उल्लेख गरिएको छ ।

१) कृष्ण/अर्जुन (भगवद्गीता/महाभारत): कृष्ण र अर्जुनको मित्रता सामाजिक सम्बन्धको साथै आध्यात्मिक र नैतिक मार्गदर्शनको गहिरो आधार पनि थियो।युद्धभूमिमा अर्जुनले कर्तव्य र धर्मबारे गहिरो द्वन्द्व अनुभव गरे, त्यही बेला कृष्णले उनलाई सत्य मार्ग देखाउँदै उचित निर्णय लिन सहयोग गरे।यस प्रसङ्गमा मित्रता भनेको सहयात्रा, सहयोग, मार्गदर्शन र आत्मिक सशक्तिकरणको प्रतिरूप हो।अर्जुनले युद्धभूमिमा निराशा र असमञ्जसको क्षणमा कृष्णको शरण पर्दा कृष्णले मित्र मात्र नभई गुरु र मार्गदर्शकको भूमिकामा पनि प्रस्तुत भएका थिए।यसबाट स्पस्ट हुन्छ कि सच्चा मित्रता जीवनका निर्णायक मोडमा आध्यात्मिक आधार बनेर सही दिशा दिन सक्ने क्षमता राख्छ।पंचतन्त्र ग्रन्थसंग तुलना गर्दा कृष्ण/अर्जुनको मित्रता विश्वासपात्र मित्रसंग तुलना गर्न सक्ने देखिन्छ ।

२) राम र सुग्रीव बीचको मित्रता (रामायण):रामायणमा राम र सुग्रीवबीचको मित्रता आदर्शको प्रतिकका रूपमा प्रस्तुत गरिएको छ।सुग्रीवको संकटमा रामले साथ दिएका थिए भने रामको सत्य र धर्मको युद्धमा सुग्रीवले आफ्नो शक्ति र स्रोत अर्पण गरी सहयोग गरेका थिए।साँचो मित्रता संकटको समयमा एक-अर्काको जीवनमा आश्रय र बल बन्ने शक्ति राख्छ।राम र सुग्रीवको सम्बन्ध संकटमा आधारित परस्पर सहयोगको उत्कृष्ट उदाहरण हो।रामले सुग्रीवलाई संकटबाट मुक्त गराए भने सुग्रीवले पनि रामलाई रावण विरुद्धको निर्णायक युद्धमा सहयोग गरे।यसरी उनीहरूको मित्रता कठिनाइमा उद्देश्य र जीवनका लागि एक-अर्कामा बल पुर्‍याउने सहभागी मित्र प्रतिरूप बनेको छ।

३) दुर्योधन-कर्ण (महाभारत): दुर्योधन र कर्णको मित्रता सहकार्य र निष्ठामा आधारित थियो।तर यो सम्बन्ध धर्म र नैतिकताको दृष्टिले विवादास्पद पनि देखिन्छ।कर्णले दुर्योधनसँग मित्रता निभाउँदा केही हदसम्म धर्ममार्गबाट विचलित भएको देखिन्छ।मित्रता सधैँ सकारात्मक उद्देश्यका लागि मात्र हुँदैन भन्ने कुरा दुर्योधन र कर्णको मित्रताबाट देख्न सकिन्छ।यसले व्यक्तिगत मूल्य र नैतिकताको द्वन्द्व पनि उत्पन्न गराउन सक्छ।दुर्योधनले कर्णलाई आफ्नो स्वार्थअनुकूल सहयोगी मित्रका रूपमा प्रयोग गरे।कर्णको निष्ठा धर्म र नैतिकताको दृष्टिले प्रश्नबाचक भए तापनि यसले सहायक मित्रको स्वरूप उजागर गरेको छ।यहाँ मित्रले समय, परिस्थिती र आवश्यकताअनुसार सहयोग पुर्याएको देखिन्छ।

४) कृष्ण/सुदामा(भागवतपुराण): कृष्ण र सुदामाको मित्रता प्रेम, आत्मीयता र निःस्वार्थता आधारित छ। सुदामा गरिब भए पनि कृष्णले उनलाई आदरपूर्वक स्वागत गरे।यहाँ मित्रता स्वार्थ, लाभ वा सामाजिक स्थिति भन्दा माथि उठेर आत्मीय सम्बन्ध र सच्चा प्रेमको प्रतीक बनिरहेको छ।कृष्ण-सुदामाको मित्रता विश्वासपात्र मित्रसँग मेल खान्छ।सुदामा कृष्णसँग आफ्नो व्यक्तिगत र आर्थिक समस्या निःसंकोच साझा गर्छन् र कृष्णले पूर्ण आदर र गोपनीयतासहित सहयोग गर्छन्।यसले साँचो मित्रता आत्मीयता, निःस्वार्थता र विश्वासमा आधारित हुने कुरा प्रमाणित गर्छ।
यसरी, सनातन धर्ममा मित्रतालाइ रमाइलो वा सामाजिक जमघटको विषय होइन भन्ने कुरा बुझाउन खोजेको देखिन्छ।जीवनलाई सत्य, धर्म र आत्मिक उत्थानतर्फ अघि बढाउने आध्यात्मिक सम्बन्धको रूपमा चित्रण गरिएको छ।यसरी सनातन ग्रन्थ र पञ्चतन्त्रको ज्ञानलाई हामीले आधुनिक सन्दर्भसँग जोडेर मित्रताको वास्तविक मूल्य बुझ्न सक्छौ।आजको समाजमा मित्रता प्रायःव्यक्तिगत लाभ, सामाजिक स्थिति वा मनोरञ्जनमा आधारित हुने प्रवृत्ति बढ्दो छ।कतिपय अवस्थामा मित्रता सतही र अस्थायी हुन्छ।यी चार उदाहरणबाट प्रस्ट हुन्छ कि साँचो मित्रता समय र लाभमा आधारित हुँदैन तर विश्वास, निष्ठा, सहयोग र आत्मीयता जस्ता मूल्यमा आधारित हुनुपर्छ।कृष्ण/सुदामा र कृष्ण/अर्जुनको मित्रता आजको साथी-संगतमा पनि मार्गदर्शनको आदर्श हो, जहाँ मित्रता कठिनाइमा साथ दिने, मार्गदर्शन गर्ने र आत्मिक मूल्यलाई संरक्षण गर्ने माध्यम बन्न सक्छ।
पश्चिमी साहित्यले मित्रतालाई भावनात्मक, सामाजिक र मनोवैज्ञानिक दृष्टिले फरक-फरक कोणबाट विश्लेषण गर्छ।पञ्चतन्त्र र सनातन ग्रन्थमा वर्णित मित्रताको आदर्श र प्रकारसँग यी रूपहरू तुलना गर्दा स्पष्ट हुन्छ कि संसारभरका साहित्यले मित्रतालाई रमाइलो सम्बन्धको रूपमा होइन, विश्वास, निष्ठा, सहयोग र स्थायित्वका आधारमा मूल्याङ्कन गरेको छ।पश्चिमी साहित्यमा मित्रता विभिन्न कोणबाट चित्रित गरिएको छ। Literary Hub अनुसार, पश्चिमी साहित्यमा छ प्रकारका मित्रता पाइन्छ।

१)फ्रेनिमि मित्रत (FRENEMY):Frenemy भन्नाले Friend(साथी)+Enemy(शत्रु)शब्दबाट बनेको अवधारणा हो।यस्तो मित्रता देखावटी मात्र हुन्छ र वास्तवमै सबैभन्दा हानिकारक प्रकारको मित्रता मानिन्छ। यसमा बाहिरबाट त साथीझैँ देखिन्छ तर भित्रभित्रै प्रतिस्पर्धा, ईर्ष्या वा हानी पुर्‍याउने प्रवृत्ति लुकेको हुन्छ।पञ्चतन्त्रमा यस प्रकारको मित्रताको सीधा चर्चा नभए पनि तुलना गर्दा यो “सत्यवादी मित्र” को ठीक उल्टो जस्तो देखिन्छ।सनातन ग्रन्थ महाभारतमा शकुनि-दुर्योधनको सम्बन्ध यसका उदाहरण हो। बाहिरबाट शकुनि दुर्योधनको मामा र सल्लाहकार मित्र झैँ लागे पनि वास्तवमा उनले आफ्ना परिवारको बदला लिनका लागि दुर्योधनलाई निरन्तर भड्काए।त्यसै कारण अन्ततःसम्पूर्ण कौरव वंशको विनाश भयो।यस किसिमका मित्रलाई बेलैमा चिन्नु र उनीहरूबाट दूरी कायम गर्नु नै आफ्नै हित र सुरक्षाको लागि उत्तम उपाय हो।

२) जिबन पर्यन्त मित्र (lifelong friendship): lifelong friendship मित्रता पूर्ण निष्ठा र स्थायित्वमा आधारित हुन्छ जहाँ साथी संकट र असफलताका क्षणमा पनि अडिग रहन्छ।पञ्चतन्त्रको स्थायी वा चिरमती मित्र यससँग समान अर्थ राख्छ जसमा मित्र सुख र दुःखमा दुबैमा बराबरी साथ दिन्छ। दुर्योधन र कर्णको मित्रता सनातन ग्रन्थमा यस प्रकारको निष्ठा र स्थायित्वको उदाहरण हो।

३) उद्देश्य सहितको मित्रता (Intentional Flock): Intentional Flock अर्थात साझा उद्देश्यमा आधारित मित्रता पञ्चतन्त्रको सहायक मित्रताको अनुरूप छ।यस्तो मित्रता व्यक्तिगत सम्बन्धमा सीमित नभई कुनै साझा उद्देश्य वा लक्ष्य पूरा गर्न सँगै मिलेर काम गर्ने आधारमा टेकेको हुन्छ।राम-सुग्रीवको सम्बन्ध यस प्रकारको मित्रता प्रदर्शन गर्छ।

४)परिस्थितीजन्य मित्रता(Circumstantial Flock): Circumstantial Flock भनेको परिस्थितिका आधारमा बनेको मित्रता हो।पञ्चतन्त्रमा सहायक मित्रता यससँग मिल्दोजुल्दो हुन्छ जहाँ मित्रले आवश्यकताको समयमा सहयोग पुर्‍याउँछ।राम-सुग्रीवको मित्रता प्रमाणित गर्छ कि कहिलेकाहीँ मित्रता विशेष परिस्थितिजन्य सहयोगमा मात्र आधारित हुन्छ जसको उद्देश्य सधैं नैतिक वा दीर्घकालीन हुनै पर्छ भन्ने छैन।

५)अन्तरप्रजातीय मित्रता(Interspecies Friendship): अन्तर-प्रजातीय मित्रता भन्नाले विभिन्न प्रजातिका जीवजन्तुबीचको मित्रता वा सहयोगलाई जनाउँछ।यस्तो मित्रतामा दुबै प्रजातिका जीवहरूले लाभ उठाउँछन् र प्रायः एकअर्कालाई सुरक्षा, भोजन वा अन्य सहयोग प्रदान गर्छन्।यसले विश्वास, सहयोग र निष्ठा जस्ता गुणहरूलाई प्रष्ट रूपमा देखाउँछ।सनातन ग्रन्थ रामायण अनुसार राम र हनुमान तथा राम र सुग्रीवको मित्रता यस प्रकारको उदाहरण हो।पञ्चतन्त्रको दृष्टिले हेर्दा राम-हनुमानको सम्बन्ध सहायक मित्रता अन्तर्गत पर्छ भने राम-सुग्रीवको सम्बन्ध सहभागी मित्रता अन्तर्गत पर्छ।राम मानव जातिका थिए भने सुग्रीव र हनुमान बाँदर जातिका थिए त्यसैले यो मित्रतालाई विशेष गरी अन्तर-प्रजातीय मित्रता भनिएको हो।

६) पुस्तान्तरी मित्रता (Intergenerational Friendship): पुस्तान्तरणीय वा अन्तर-पीढी मित्रता जहाँ अनुभव र ज्ञान साझा हुन्छ। पञ्चतन्त्र र सनातन ग्रन्थमा स्थायी मित्रता र विश्वासपात्र मित्रताको संगतमा आउँछ।यस्तो मित्रता व्यक्तिगत लाभमा आधारित नभई दीर्घकालीन विश्वास, आत्मीयता र मार्गदर्शनमा आधारित हुन्छ।गुरु-शिष्य सम्बन्ध यस प्रकारको मित्रताले सामाजिक पक्ष प्रकट गर्छ।
दार्शनिक दृष्टिकोणमा “साथी” (मित्र) भन्ने परिभाषा सामाजिक सम्बन्ध वा व्यवहारमा सीमित नभई, नैतिकता, अस्तित्व र मानव जीवनको गहिरो प्रश्नहरूसँग जोडिएको हुन्छ।विभिन्न दार्शनिक परम्परामा यसलाई फरक-फरक कोणबाट परिभाषित गरिएको छ:
अरिस्टोल Aristotle: “A friend holds a mirror up to us.” अर्थात् एक जना साथीले हामीलाई ऐना देखाउँछ ।अरिस्टोटलका अनुसार साँचो मित्र भनेको रमाइलो गर्ने वा उपयोगका लागि खोजिने व्यक्ति होइन ।साथी भनेको हाम्रो वास्तविक स्वरूप देखाउने दर्पण हो।मित्रसँगको सम्बन्धले हामीलाई आत्म-चिन्तन गर्न बाध्य पार्छ किनभने साथी हाम्रो गुण-अवगुण दुवै प्रतिबिम्बित गर्छ।यस्तो मित्रता नैतिक उन्नतिका लागि अपरिहार्य हुन्छ।यो विचार सनातन धर्मको दृष्टिसँग पनि मेल खान्छ जहाँ मित्रलाई धर्म, सत्य र कल्याणको सहयात्री मानिन्छ।महाभारतमा मित्रलाई संकटमा परिक्षण गरिन्छ भनिएको छ जुन अरिस्टोटलको “प्रतिबिम्ब” भन्ने धारणा जस्तै नै हो किनभने संकट वा कठिनाइमा मात्र साँचो मित्रता प्रकट हुन्छ।त्यस्तै पञ्चतन्त्रले पनि मित्रतालाई व्यवहारिक बुद्धिको आधारमा हेर्छ जहाँ साँचो मित्र संकटमा उपयोगी हुन्छ भने झूटो मित्र घातक साबित हुन्छ।यसरी हेर्दा अरिस्टोटलको “मित्र दर्पण हो” भन्ने दृष्टि र प्राचिन पुर्बिय ग्रन्थहरू (सनातन ग्रन्थ) मा भेटिने मित्रताको परिभाषा मूलतःएउटै बिन्दुतर्फ इङ्गित गर्छन्।साँचो साथी भनेको हाम्रो जीवन, आचरण र निर्णयलाई स्पष्ट पार्ने माध्यम हो।

एपिकुरस Epicurus: “Friendship is better than fortune” अर्थात् धनभन्दा साथी ठुलो भन्ने विचारले जीवनमा मित्रताको स्थानलाई अत्यन्तै उच्च देखाउँछ।धन-सम्पत्ति अस्थायी हुन्छ, सुख दिन सक्छ तर आत्मालाई शान्ति र स्थायित्व दिन सक्दैन।तर मित्र भने पीडामा सहारा, आनन्दमा सहभागिता र अस्तित्वमै अर्थ दिने माध्यम हो।पञ्चतन्त्र अनुसार स्थायी/चिरमती मित्र नै यस प्रकारको मित्र हो जुन सर्वोच्च सम्पत्ति ठहरिन्छ।महाभारतमा कृष्ण र अर्जुनको मित्रता नै धर्मयुद्धमा अर्जुनलाई मार्गदर्शन गर्ने निर्णायक शक्ति हो। यहाँ मित्रता आत्मा-कल्याण र धर्म-स्थापनाको आधार बनेको छ। रामायण मा राम र सुग्रीवको सम्बन्धले देखाउँछ कि मित्रता कुनै लाभ-हानि भन्दा पनि समर्पण र विश्वासमा आधारित हुन्छ।पश्चिमी साहित्यतर्फ हेरिँदा पनि एपिकुरसको विचारसँग मेल खाने धारा बलियो छ ।लाइब्रेरी हबको छ प्रकारका मित्रता मध्ये जिबनपर्यन्त मित्रता यो संग मिल्दोजुल्दो देखिन्छ।यसरी एपिकुरसको दार्शनिक धार होस् वा भारतीय धर्म ग्रन्थहरूको दृष्टान्त होस् र पश्चिमी साहित्यको कथा, सबैले एउटै सत्य औंल्याएका छन्।धन क्षणिक छ तर साँचो मित्रता भने जीवनको अमूल्य र अविनाशी सम्पत्ति हो।

सी एस लेविस C.S. Lewis: Friendship is unnecessary, like philosophy, like art… It has no survival value; rather it is one of those things which give value to survival.” मित्रता आवश्यक छ, दर्शन जस्तै, कला जस्तै… यसको कुनै अस्तित्वको मूल्य छैन; बरु यो ती चीजहरू मध्ये एक हो जसले अस्तित्वलाई मूल्य दिन्छ।खाना, वस्त्र, आवासजस्तै भौतिक आवश्यकताले मात्र मानिस बाँच्न सक्छ, तर मित्र बिना त्यो बचाइको सार निर्जीव जस्तै हुन्छ।मित्रता आवश्यकताका लागि नभई जीवनलाई अर्थ र मूल्य दिने खालको हुनु पर्दछ।खाना,वस्त्र वा आवास जस्ता भौतिक आवश्यकताले मानिस मात्र बाँच्न मात्र सक्छ तर मित्र बिना जीवन अधुरो र निर्जीव जस्तो हुन्छ।यस दृष्टिले हेर्दा पञ्चतन्त्र अनुसार यस्तो मित्रता स्थायी वा चिरमती मित्रता अन्तर्गत पर्छ जसमा मित्रता दीर्घकालीन, निष्ठावान र सुख-दुःख दुवै अवस्थामा साथ दिने हुन्छ।सनातन ग्रन्थमा यसका उदाहरणहरू स्पष्ट छन्- जस्तै कृष्ण-सुदामा,जसको मित्रता बाल्यकालदेखि मृत्यु पर्यन्तसम्म अटूट रह्यो, राम-हनुमान, जसले जीवनभर रामलाई भगवान मात्र नमानी मित्रको रूपमा समेत साथ दिए र दुर्योधन-कर्ण जसले अन्तिम क्षणसम्म दुर्योधनलाई साथ दिइरहे।पश्चिमा साहित्य अनुसार C.S. Lewis को भनाइ “Friendship gives value to survival” पूर्ण रूपमा जीवनपर्यन्त मित्रता (Lifelong friendship)सँग मेल खान्छ किनभने यसले जीवनलाई अर्थ र मूल्य दिन्छ, दीर्घकालीन, निष्ठावान र सुख-दुःखमा साथ दिने मित्रताको प्रतिनिधित्व गर्छ।

निष्कर्ष (Conclusion):
मित्रता सामाजिक सम्बन्ध मात्र होइन, यो जीवनलाई मूल्यवान् बनाउने आध्यात्मिक, नैतिक र दार्शनिक धरोहर समेत हो।पञ्चतन्त्रले मित्रतालाई व्यवहारिक बुद्धि र जीवनोपयोगी शिक्षासँग जोड्छ, सनातन ग्रन्थहरूले यसलाई धर्म, सत्य र आत्म-कल्याणको सहयात्रीका रूपमा प्रस्तुत गर्छन् र पश्चिमी साहित्यले यसलाई भावनात्मक, सामाजिक तथा मनोवैज्ञानिक दृष्टिले व्याख्या गर्छ।अरिस्टोटलले साथीलाई दर्पणसँग तुलना गरे, एपिकुरसले धनभन्दा ठूलो ठाने, र C.S. Lewis ले जीवनलाई अर्थ दिने सौन्दर्यका रूपमा चित्रण गरे।यी सबै दृष्टिहरूले एउटै सत्य औंल्याउँछन्—साँचो मित्रता संकटमा साथ दिने सहारा हो, सत्यमा उभ्याउने मार्गदर्शक हो, आत्मीयता र विश्वासमा आधारित स्थायी सम्बन्ध हो।जीवन अस्थायी, सम्पत्ति क्षणिक र परिस्थिति परिवर्तनशील भए पनि साँचो मित्रता भने अमूल्य सम्पत्ति हो जसले अस्तित्वलाई मात्र होइन, जीवनलाई नै सार्थक र गौरवमय बनाउँछ।

-लेखक ई. किरण घिमिरेलाई ट्रान्स्पोट्रेसन इन्जिनियर तथा विकास योजना र विविध पक्षमा लेख लेख्ने लेखक हुनुहुन्छ ।
-लेखक तेजनाथ दंगाल, माध्यामिक तहको शिक्षक तथा धर्म, संस्कृति, ईतिहास, सामाजिक क्षेत्रका विभिन्न पक्षहरुका बारेमा अनुसन्धानमुलक लेख लेख्नुहुन्छ ।