३ लाख नदिए विदेश उडाउन अस्वीकार गर्ने म्यानपावरविरुद्ध स्टिङ अपरेसन, एजेन्ट पक्राउ
अजय कुमार यादव लाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने नाममा लाखौँ रुपैयाँ असुल्न खोज्ने म्यानपावर कम्पनीविरुद्ध गरिएको स्टिङ अपरेसनमा एक एजेन्ट पक्राउ परेका छन्।
सप्तरीका अजय कुमार यादव सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका थिए। सरकारको ‘फ्रि भिसा, फ्रि टिकट’ नीति अनुसार अधिकतम १० हजार रुपैयाँ मात्रै तिर्नुपर्ने भए पनि उनले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए।
तर कोटेश्वरस्थित Grand Suit Job Manpower ले थप ३ लाख रुपैयाँ मागेपछि उनी निर्धारित मितिमा उड्न पाएनन्। म्यानपावरले बाँकी रकम नदिएसम्म राहदानी, श्रम स्वीकृति र हवाई टिकट नदिने चेतावनी दिएको थियो।
पीडित यादवले आफ्नो समस्या श्रम मन्त्रालयसम्म पुर्याएपछि श्रममन्त्री रामजी यादव को सचिवालय सक्रिय बनेको थियो। त्यसपछि प्रहरी र सञ्चारकर्मीको समन्वयमा तीनकुनेस्थित गैरीगाउँ क्षेत्रमा स्टिङ अपरेसन सञ्चालन गरिएको थियो।
म्यानपावर कम्पनीका एक कर्मचारीले पासपोर्ट र कागजात दिनुअघि रकम मागेपछि प्रहरीले उनलाई रंगेहात नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिको साथबाट चारवटा पासपोर्ट, फ्लाइट टिकट र अन्य महत्त्वपूर्ण कागजात बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती कर्मचारीले वैदेशिक रोजगारीमा जाने कामदारहरूसँग ठूलो रकम उठाएर कागजात दिने तयारी गरेको खुलेको छ। ‘फ्रि भिसा, फ्रि टिकट’ नीति लागू भएको देशमा ३ लाख रुपैयाँ मागिएको विषयमा सोधपुछ गर्दा पक्राउ परेका एजेन्ट मौन बनेका थिए।
प्रहरी हस्तक्षेपपछि अजय यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट फिर्ता गराइएको छ। उनी आइतबार मलेसिया उड्ने तयारीमा रहेका छन्।
पीडित यादवले म्यानपावरले सुरुमा “पैसा लाग्दैन” भने पनि भिसा आएपछि ठूलो रकम मागेर धम्क्याएको गुनासो गरेका छन्। उनले गरिब श्रमिकलाई ठगी गर्ने यस्ता गिरोहमाथि कडा कारबाही हुनुपर्ने बताएका छन्।
श्रम मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा कुनै समस्या आए सिधै मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको छ भने पक्राउ परेका एजेन्टमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस