Image description

काठमाडौं । यस्तो लाग्छ वीरेनप्रताप सपना देख्नकै लागि जन्मिएको हो । यस्तो एक जना भुईंमान्छे जो अर्धाङ्गिनीको सुविस्ता, सन्तानको सुख र प्रगति, बुढेसकालमा सुविधाको सपना देख्छ । सपना पूरा गर्न ऊ कम्पनीको मालिक, साथीभाइ र आफैंसँग लडिरहेको छ । तर उसलाई थाहा छ कि छैन, प्रत्येक कुराको अन्त्य निश्चित छ । सपनाको पनि उदयसँगै अवसान होला । अवसानपछि उदय पनि होला । तर वीरेनप्रताप ती स्वप्नदर्शीको एक ‘प्रोटागोनिस्ट’ हो, जो दुःख छ भन्दैमा सपना देख्न पनि छाड्दैन ।

मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘यौटा सपनाको अवसान’ले दिमाग हल्लाउँछ । व्यवस्था र कर्पोरेट पुँजीवादको चक्रभित्र कसरी भुईंमान्छेका सपना पिसिएका छन् भन्ने कुराले रिस उठाउँछ । निर्देशक अनुप बरालले वीरेनप्रतापको पात्रमार्फत व्यवस्था, सत्ता संरचनालाई प्रश्न सोधेका छन् । समग्रमा यो नाटक वर्तमान नेपाली समाज, अर्थतन्त्रको जरा र मध्यमवर्गलाई सपना देख्न मनाही छ भन्ने यथार्थको एउटा रेप्लिका हो । नाटक हेरुञ्जेल तपाईंले वीरेनप्रतापको मनोदशा र द्वन्द्वसँग उतारचढावपूर्ण यात्रा गर्नुहुन्छ ।

 

पुँजीवादको खास चरित्र के हो भने यसले मान्छेलाई वस्तु देख्छ । जब बजारसँग यसको उपयोगिता सकिन्छ, मान्छे र उसका सपनाको अवसान हुन्छ । भौतिकवादी समाजमा रुपान्तरण भइसकेको विश्वमा सपना देख्नेका लागि यो साझा चुनौती हो । नाट्यकार आर्थर मिलरले ८० वर्षअघि नै अमेरिकी परिवेशमा यो नाटक लेखेका थिए । अमेरिकामा तीव्र रुपमा पुँजीवादको उदय भइरहँदा श्रमिक वर्ग कसरी यो चक्रबाट पिल्सिएका छन् भन्ने दृष्टान्तलाई मिलरले नाटक ‘डेथ अफ अ सेल्सम्यान’मार्फत भनेका थिए ।