Image description

०७ चैत २०८०

अजय पोखरेल/संवाददाता 

काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ७ मा रहेको कठनचोकमा शंखरापुर नगर अस्पताल भवन शिलान्यास गरिएको छ । बुधवार नगरप्रमुख रमेश नापित र उपप्रमुख समिता श्रेष्ठले एक समारोहका बिच अस्पताल भवनको शिलान्यास गरेका हुन ।  १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो अस्पताल भवन जर्मन सरकारको ३३ करोड सहयोगमा निर्माण हुन लागेको हो । 

भवन शिलान्यासको अवसरमा बोल्दै नगरप्रमुख रमेश नापितले निर्धारित समयमा अस्पतालको निर्माण कार्य सम्पन्न हुने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

सो अवसरमा मेयर नापितले भने–‘हाम्रो धेरै लामो प्रयासपछि आज नगर अस्पताल शिलान्यास गरी काम अघि बढाउने क्रममा छौँ । यो अस्पताल बनेपछि यहाँका जनतालाई स्वास्थ्य सेवा दिनका लागि हामीलाई सहज हुनेछ । निर्धारित समयमा यसलाई सम्पन्न गर्न हामी लागिपर्नेछौँ ।’

मेयर नापितले निर्धारित १८ महिनाभित्र नै अस्पताल निर्माणको काम सम्पन्न हुने विश्वास व्यक्त गरे । 

यस्तै उपप्रमुख समिता श्रेष्ठले सुरुमा अस्पताल भवन निर्माण गरिसक्ने र स्थानीय आवश्यकता अनुसारको उपचार सेवाको व्यवस्था गर्ने उल्लेख गरिन । उनले भनिन–‘अहिले नै यो राख्ने भन्दा पनि पहिला भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष्य छ । त्यसपछि हाम्रो यहाँको आवश्यकता अनुसारको उपचार सेवा सञ्चालन गर्ने हाम्रो लक्ष्य रहेको छ । स्थानीयको मागलाई पनि संवोधन हुनेगरी उपचार सेवा सुनिश्चित गर्नेछौँ ।’

सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको अस्पताल निर्माण हुने जानकारी दिए । 

उनले भने–‘हामी निर्धारित समय भन्दा अगाडि नै काम सम्पन्न गर्नका लागि एकदमै प्रतिबद्ध छौँ । यो भवन निर्माण गर्ने कम्पनीसँग धेरै चरणमा छलफल गरेका छौँ । निर्माण कम्पनीसँग १८ महिनामा भवन निर्माण सक्ने सम्झौता भए पनि त्यो भन्दा अगाडि नै हस्तान्तरण गर्ने हाम्रो प्रयत्न रहनेछ । नेपाल सरकारले तय गरेको मापदण्ड अनुसारको आधारभूत अस्पताल बन्नेछ ।’ सो अस्पतालमा बर्थिङ सेन्टरदेखि इमर्जेन्सी सेवाका आधारभूत सबै स्वास्थ्य सेवा यहाँबाट उपलब्ध हुने उनले बताए । 

साथै वडा नम्बर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले सो अस्पताल निर्माणपछि शंखरापुरबासीले सुविधा सम्पन्न अस्पताल पाउने बताए । 

उनले भने–‘बहुप्रतिक्षित हाम्रो यो परियोजना अघि बढेको छ । राम्रो अस्पताल बनाउन लागेका छौँ, जनताले गुणस्तरीय र आधारभूत स्वास्थ्य सेवा लिन पाउने अवसर अब सिर्जना हुँदैछ । जर्मन सरकारको सहयोगमा ३३ करोडमा उपकरण सहित सुविधा सम्पन्न १० शैयाको शंखरापुरमा राम्रो भौतिक पूर्वाधार भएको अस्पताल बन्दैछ । यसमा सवैको सहयोग हुने अपेक्षा राखेका छौँ ।’

सो अवसरमा वडा नम्बर ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले नगर अस्पताल निर्माण हुन लागेकोमा खुसी लागेको बताए । उनले भने–‘२०७४ सालको चुनावमा निर्वाचित हुँदा शंखरापुर नगरपालिकाभित्र सुविधा सम्पन्न हस्पिटल बनाउनुपर्छ भनेको थियौँ । अहिलेको यो कार्यकालमा त्यो सपना पूरा हुन लागेकोमा खुसी लागेको छ । जनतालाई बढी भन्दा बढी स्वास्थ्य सेवा दिनका लागि हामी प्रयत्नशील रहनेछौँ । शंखरापुर नगरपालिकाका स्थानीय मात्र नभई छिमेकी नगरपालिकाका स्थानीय पनि यसबाट लाभान्वित होउन् भन्ने उद्देश्यबाट हामीले यो काम सुरु गरेका छौँ ।’

सो अवसरमा नगरपालिकाका विभिन्न शाखा प्रमुख, साँखु प्रहरी प्रभाग प्रमुख, नगर कार्यपालिका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।