Image description

१३ चैत, काठमाडौं । नेपालमा जनसंख्या असन्तुलनको फरक रुप देखिन थालेको छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार २० वर्षभन्दा माथिको उमेर समूहमा महिलाको संख्या बढी देखिन्छ भने त्योभन्दा कम उमेर समूहमा पुरुषको संख्या क्रमशः बढ्दै गएको पाइएको छ ।

तथ्यांक अनुसार १५–१९ वर्ष उमेर समूहका २९ लाख ६६ हजार ४०४ जनामध्ये पुरुष १४ लाख ९४ हजार ५२३ छन् भने महिला १४ लाख ७१ हजार ८८१ छन् ।

 

अहिले १०–१४ वर्ष उमेर समूहका बालबालिकाको जम्मा संख्या २९ लाख ९८ हजार ६५ छ । जसमध्ये बालक १४ लाख ९५ हजार ९५४ र बालिका १४ लाख १३ हजार ९११ जना छन् । अर्थात महिलाभन्दा पुरुषको संख्या ८२ हजार ४३ बढी छ ।

यस्तै ५–९ उमेर समूहका कुल २७ लाख ६६ हजार ४२७ बालबालिकामा बालकको संख्या १४ लाख ४३ हजार ४०५ र बालिकाको सख्या १३ लाख २३ हजार २२ अर्थात् महिलाभन्दा पुरुषको संख्या एक लाख २० हजार ३८३ बढी छ ।

 

यस्तै ०–४ वर्ष उमेर समूहका कुल २४ लाख ३९ हजार २८३ मध्ये बालक १२ लाख ९० हजार ५२५ र बालिका ११ लाख ४८ हजार ७५८ जना छन् । यसमा लैगिंक अन्तर एक लाख ४१ हजार ७६७ देखिन्छ ।

लैंगिक असन्तुलन देखिनुको कारण

त्रिवि केन्द्रीय जनसंख्या अध्ययन विभाग प्रमुख प्रा.डा. योगेन्द्रबहादुर गुरुङ पुरुषको संख्या बढ्दै जानुमा छोरा र छोरीबीच हुने विभेद मुख्य कारण रहेको बताउँछन् ।

‘पहिलो छोरा जन्मियो भने त्यत्तिमै रोक्ने, छोरी जन्मिए दुई सन्तान जन्माउने प्रवृत्ति छ’, उनी भन्छन्, ‘छोरा नभई नहुने, छोरी चाहिँ नभए पनि हुने सोच समाजमा छ । पुरुष संख्या बढ्नुको मुख्य कारण मध्येको एक हो यो प्रवृत्ति ।’