Image description

उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँको चाबहिलमा रहेको लरेन्स कलेजलाई ‘कलेज अफ दि इयर’ अवार्ड बाट सम्मान गरेका छन् । एक समारोहका बिच कलेज अध्यक्ष केशवप्रसाद दंगाललाई उपप्रधानमन्त्री श्रेष्ठले सो अवार्डबाट सम्मान गरेका हुन । 
शैक्षिक म्यागेजिन ‘शिक्षालय राष्ट्रिय मासिक’ ले काठमाडौंमा आयोजना गरेको १८ औँ ‘नेशनल एजुकेसन अवार्ड’ कार्यक्रममा अवसरमा सेन्ट लरेन्स कलेजले ‘कलेज अफ दि इयर’ विधामा सो अवार्डद्वारा सम्मान गरिएको हो ।  
विगत २७ वर्षदेखि अनवरत रूपमा उत्कृष्ट नजिता दिन सफल रहेको आधार, विद्यार्थी सङ्ख्या, कलेजको ३ वर्षको नतिजा, अध्ययन पछि विद्यार्थीहरूको बजारमा पाएको रोजगारीको अवसरको अवस्था, कलेजका सञ्चालकहरूको शैक्षिक पृष्ठभूमि आदिलाई मूल्याङ्कनको आधार बनाइएको आयोजक शिक्षालय मासिकका प्रकाशक तथा प्रधान सम्पादक श्याम तण्डुकारले जानकारी दिए ।
निर्णायक मण्डलले विभिन्न मापदण्डका आधारमा  अवार्डका लागि छनौट गरेका थिए ।

स्रोत व्यक्तिका रूपमा रहेका मन्टेश्वरी एसोसिएसन नेपालकी अध्यक्ष सुष्मा लामा, प्याब्सन उपाध्यक्ष दीपिका रिमाल थापा र हिसान उपाध्यक्ष रामहरि सिलवालले आफूले प्राप्त गरेको नामावलीलाई निर्णायक मण्डल समक्ष पठाएका थिए । शिक्षा मन्त्रालयका उपसचिव गेहनाथ गौतम, शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल र शिक्षा अभियन्ता बिके श्रेष्ठ सदस्य रहेको निर्णायक मण्डलले स्रोत व्यक्तिले गरेको सिफारिसहरू मध्येबाट अवार्ड प्राप्त गर्ने संस्थाहरू छनौट गरेका थिए । 
सम्मान प्राप्त गरेपछि कलेजका अध्यक्ष केशवप्रसाद दंगालले कलेजले विगत २७ वर्षदेखि शैक्षिक क्षेत्रमा गरेको गुणस्तरीय सेवाका आधारमा अवार्ड प्रदान गरिएकोमा धन्यवाद ज्ञापन गरेका छन् । यसले आगामी दिनमा गुणस्तरीय शैक्षिक सेवा प्रदान गर्नका लागि हौसला प्रदान गरेको उनले बताए ।  


उक्त एवार्ड समारोहमा शिक्षा क्षेत्रका योगदान गरेका, समाजसेवी, विज्ञ, विद्यालय संचालक, कर्मचारीलगायतलाई समेत विभिन्न एवार्डबाट सम्मान गरिएको थियो ।  चाबहिलस्थित सेन्ट लरेन्स कलेज पछिल्लो समय नेपालका उत्कृष्ट कलेजहरुमा समेत पर्दै आएको छ । कलेजले उत्कृष्ट व्यवस्थापनमा विज्ञान, व्यवस्थापन, मानविकीलगायतका विधामा अध्यापन गराउँदैं आएको छ ।