Image description

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं समाजसेवी कुन्तीदेवी पोखरेल प्रमुख रहेको कुन्तीदेवी फाउन्डेशनको आयोजनामा भएको निःशूल्क महिला स्वास्थ्य शिविरमा शंखरापुरका २ सय महिलालले निःशूल्क उपचार पाएका छन् । 
बुधबार काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ३ स्थित जहरसिंह पौवामा कुन्तीदेवी फाउन्डेशन आयोजक, शंखरापुर नगरपालिका सहआयोजक रहेको स्वास्थ्य शिविरको नगरप्रमुख रमेश नापितले उद्घाटन गरेका थिए । 


सामुदायिक सेवा प्रतिष्ठान गठ्ठाघरको प्राविधकि सहयोग रहेको सो स्वास्थ्य शिविरमा बनेपामा रहेको शिर मेमोरिल अस्पतालका डाक्टर, नर्स लगायत १७ जना स्वास्थ्यकर्मीले बिरामीको चेकजाँच गरेका थिए ।
खासगरी महिलाको प्रजनन स्वास्थ्य, पाठेघर जाँचलाई प्राथमिकता दिइएको सो शिविरमा २ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ भने १० जना  अप्रेशन गर्नुपर्ने विरामी भेटिएको फाउन्डेसनकी अध्यक्ष कुन्तीदेवी पोखरेलले जानकारी दिइन । उनीहरुको शिर मेमोरियल अस्पतालमा अप्रेशन हुनेछ । 


निःशूल्क औषधी वितरण सहितको पुर्ण उपचार सेवा प्रदान गरिएको शिविरमा उपचार गर्न पाएपछि स्थानीय महिलाहरुले खुसी व्यक्त गरेका छन् । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख रमेश नापितले शंखरापुर नगरबासीका लागि नगरपालिकाले विभिन्न रोगको उपचारका लागि साँखुमा रहेको सुष्मा कोइराला अस्पताल मार्फत निःशूल्क स्वास्थ्य सेवाको कार्यक्रम जारी राखेको जानकारी दिए । साथै नगरपालिकाको विभिन्न वडाका टोल टोलमा गएर घुम्ती स्वास्थ्य सेवापनि प्रदान गरिरहेको बताउँदै नगरबासीको स्वास्थ्यप्रति गंभीर भएर नगरपालिकाले काम गरिरहेको जानकारी दिए । 
यस्तै फाउन्डेनकी अध्यक्ष कुन्तीदेवी पोखरेलले फाउन्डेसनको तर्फबाट आगामी दिनमा पनि यसरी नै सो क्षेत्रका जनताको भलाईका लागि आफू लागीपरिरहने उल्लेख गरिन । 
कार्यक्रममा नगरप्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले पनि मन्तब्य राख्दै शंखरापुर नगरपालिकामा महिला स्वास्थ्यलाई केन्द्रमा राखेर स्वास्थ्य शिविर सञ्चालन गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए ।