देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, काठमाडौंमा दिउँसोपछि पानी पर्ने अनुमान
नयाँ पोस्ट
११ साउन २०८३, सोमबार
काठमाडौं, साउन ११ -देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (सोमबार) पनि विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, बागमती प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली क्षेत्रका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, बागमती र गण्डकीका तराईका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
रातिको समयमा पनि हिमाली र पहाडी क्षेत्रका केही स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ।
मौसमविद्का अनुसार काठमाडौं उपत्यकामा बिहान केही स्थानमा फाटफुट वर्षा भए पनि दिउँसोसम्म घाम–बादलको अवस्था रहनेछ। त्यसपछि दिउँसो २ देखि ३ बजेको बीचमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा नदी, खोलानाला आसपास बसोबास गर्ने नागरिक, सडक यात्री तथा पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। साथै, चट्याङ र आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राखेर यात्रा तथा बाहिरी गतिविधि गर्दा सावधानी अपनाउन पनि सुझाव दिइएको छ।
प्रतिक्रिया दिनुहोस