दशैंको लहर र हाम्रो सामाजिक जनजीवन
-तेजनाथ दंगाल
शरदकालको महिमा बोधगम्य छ । शरदकालमा कवि लेखकहरूका कलम पूर्ववतरुपमा भन्दा बढी नै तिखारिएका हुन्छन् । वर्षाका भेलबाढीले पखालिएका पाखा पखेराहरू शरदको उज्यालो घामले छर्लङ्ग पारिदिँदा सबैका मनमा मोहकताको आभाष हुन्छ । वर्षाकालभरी धुम्मिएर अँध्यारो भएको गगन बिस्तारै निरक्षिर सागर जस्तै हुँदा मनमा आनन्दको हुटहुटी चल्दछ । बारीमा मकैका ढोड फाँडेर पन्छाउँदा वरिपरि छर्लङ्ग भइ टाढाका गाउँ बस्तीहरू समेत दृष्टिका सन्निकटमा आउँछन् । गाउँ वरपर पाखामा कपास जस्तै फुलेका सिरुले चित्ताकर्षक गरिरहेको हुन्छ । बारिका कान्लामा फुलेका सयपत्री, थुङे र गोदावरी फूलले गाउँघरलाई सिङ्गारेर चट्ट पारेको हुन्छ । महिनाैँ अघिदेखि बादलुको घुम्टोमा लपेटिएका हिमालहरू शरदको मोहकतामा सेता दाँत देखाएर हरदम स्वागत गरिरहेको अनुभूति हुन्छ । दिउँसोको पारिलो घाम, ओभानो भूमि, घाँस काटेर छरितो देखिएका पाखहरू र फाँटमा लहलह भएका धानका दृष्यहरूबाट ओझेलिन जो कोहीलाई कठिन नै हुन्छ । बिहान-बेलुकाको मनोरम हावाले शरीरलाई छोएर जाँदा रोमाञ्चित बनाउँछ । निलो नभमा रात्रिकालमा जून पृथ्वीलाई देखेर मुस्कुराएको जस्तो भान हुन्छ । अरुणोदयको मोहकता हिमाल र धरतीभरि छरिँदा स्वर्णमय संसारको आभाष हुन्छ । यो विषय धेरैको मनभित्र रुमलिएर बसेको हुन्छ । मनको गथासो नपोखिएको मात्र हो ।
प्रायः धेरैको बाल्यावस्था ग्रामीण परिवेशमा बितेको हुन्छ । बालकहरू जहाँ जन्मे, हुर्के र बढे त्यहाँको धुलिमाटीसँग हृदय साटे । उनीहरूको लागि त्यो स्थान अन्तरहृदयमा अमीट छाप बनेर बसेको हुँदो रहेछ जुन मैले यहाँ वर्णन गर्न त गाह्रो छ तर भावनाका तरेलीहरूमा बगेर गथासो भने पोख्न सकिन्छ ।
बालकहरूका लागि चाडपर्व भनेपछि खुसीको सीमा हुँदैन ।त्यसमा पनि दशैंको नाम लिँदासाथ आनन्द र खुसीको वर्षा गराउँछन् । दशैलाई हेर्ने र बुझ्ने आ-आफ्नै दृष्टिकोण छ ।
दशैं के हो ? किन मनाउने ? यी यावत सवालहरूको अनेकौं उत्तरहरू आउलान तर पनि आशीर्वाद थापेर आनन्द र सुखको अनुभूतिजन्य सागरमा पौडिने आकांक्षा बढी देखिन्छ । समाजमा दशैंको लहरले कसलाई छोएको हुँदैन र ! युवा युवतीहरूलाई त बढी नै प्रभाव पारेको हुन्छ । बृद्धबृद्धाहरू जिम्मेवारीको महसुस गर्दै सतर्क भएर आगाडी बढिरहेका हुन्छन् । महिलाहरू घर सफा गर्ने,दशैंको लागि अन्नपातको जोहो गर्ने र विविध कुराहरूको चाँजोपाँजो मिलाउन व्यस्त हुन्छन् । पुरुषहरू खर्चपर्छ व्यवस्थापन मिलाउन व्यस्त हुन्छन् र घर सिंगार्ने कार्यका लागि खानीबाट कमेरो र रातोमाटोको भारी खेप्न कम्मर कसेर लागेका हुन्छन् । सेतो कमेरोको बर्को ओढाएर रातोमाटोको पटुकीले सिंगारिएका हाम्रा ग्रामीण घरहरू सृष्टि कै नमुना पो हुन कि जस्तो लाग्छ । दशैंको आगमनलाई हृदयदेखि नै स्वागत गर्न को हिच्किचाउला र ! यस घडीमा परिवार लगायत छरचिमेकी आपसमा मिलेर ढिकी ,जाँताे चलाउँदै चामल,चिउरा र पिठोको चाँजोपाँजो मिलाउँ छन् ।

दशैको रौनकतामा अर्को एउटा विषेश कुराले स्थान लिएको हुन्छ। त्यो हो चिउरा कुट्ने चलन । तातो पानीमा भिजाएको धानलाई ढाडिएपछि चिउरा बनाउने जमर्को जोडतोडले चल्दछ । महिलाहरू घरबाहिर पिंढीमा बनाइएको चुलोमा हाँडी बसालेर राप-तापको कुनै प्रवाह नगरी अहोरात्र खट्दछन् ।अर्कोतर्फ लाठेहरू काठे उर्गलमा लुसी लिएर भुटेको धानलाई कुट्दछन् । ज्वाइँ-ज्वाइँ अलि भुट्नु पर्यो भनेर ठट्टा गर्दै पुरोरात थकाईको प्रवाह नगरी चिउरा कुट्दछन्। बुढाबा फलैचामा बसेर तमाखुको सर्को तान्दै तन्नेरीका गफ सुनेर आफ्नो अतितलाई ताजा बनाउँछन् र विगतका सुसेलीहरूमा रमाउँछन । कस्तो रहेछ यो दशै ! रमाइलो र उत्साहको सिमाना काटेर टाढा क्षितिजमा पुगेर पनि मधुर मुस्कानले दुनियाँलाई रोमाञ्चि पार्ने । साना नानीबाबुहरू नाना र खानामा रमाउँछन् । हामी जो कोही पनि रमायाैँ । हाम्रो अतित हाम्रा लागि चलचित्रका पर्दामा दृश्यावलोकन गरे झै लाग्दछ ।
हाम्रो देशमा जे जति चाडपर्व र सांस्कृतिक महोत्सव छन् त्यसमा कुनै न कुनै रुपमा धर्मको लेप लागेको छ । दशैलाई असत्य माथि सत्यको विजयको प्रतीकको रुपमा लिइने गरिन्छ । यो चाड शास्त्रीय आहानका साथ प्रारम्भ गरिन्छ । दानवीय शक्तिको विनासको लागि दैवीय शक्तिको आह्वान गर्दै घरघरमा घटस्थापना गरि जौ,गहुँ, मकैको जमरा राखिन्छ । अर्कोतर्फ बुढापाकाको अनुभव र तन्नेरीहरूको जोशले चाडपर्वलाई उल्लासमय बनाउन कुनै कसुर बाँकी राख्दैनन् । देवी दुर्गा, भगवती, काली, महाकाली जे भने पनि आदिशक्ती देवीको अह्वान गरी विभिन्न स्वरूपको स्मरण गर्दै पूजापाठ गरिन्छ । भक्तिभाव देखाएर आरधाना गरिन्छ । जनजीवनमा पनि सत्यको विजय होस् भन्ने कामना गरिन्छ । जीवन र जगतलाई नजिकैबाट चिहाउँदा यथार्थताको कसीमा घोटिन पुगिन्छ । यथार्थतालाई स्वीकार गर्नु दिमागमा सकारात्मक सोचका जीवाणुहरू सल्बलाएका जो कोहीका लागि पनि बाध्यताको कठघरा हो ।
दशैले गाउँघरमा अर्को एउटा विशेष चर्चाको स्थान पाएको हुन्छ । फलानोले यत्रो खसी ल्यायो रे ! ढिस्कानोले यत्रो खसी ल्यायो रे ! हेर्ने र जोख्नेको लहर लाग्छ । बुढापाकाहरू जीवनको लामो भोगाइ र अनुभवबाट आँकलन गर्दै यति धार्नी र उति धार्नी भनेर अड्कल काड्थे । अर्कोतिर ठिटाहरू बल देखाउन खसी उचाल्ने गर्छ्न । मौका पाए केटाकेटीहरू बा आमाको आँखा छलेर घोडा चढ्छन् र खुत्रुक्क लडेपछी रमाउँदै दाैडिन्छ्न् । मूलबाटोमा तिब्बतबाट ल्याइएका भेडा च्याङ्ग्राको बथानले ढाकेको हुन्छ । किनमेलमा सहर बजार जाने र सहरबाट गाउँघर फर्किनेहरूको लहर बाटोघाटोमा देखिन्छ । के दशै खानपिन,दु:ख सुख साट्ने चौतारी,जीवनका उकाली ओरालीमा भोगेका तितामिठा अनुभवहरू साट्ने सटही विभाग मात्र हो र ! यसका पछाडि अनेकौं रहस्यमय गाथाहरू लुकेका होलान् जो भावनाले मात्र व्यक्त गर्न सकिन्छ ।
दशैं खानपिन र भेटघाटको दोभान मात्र होईन रहेछ । यस बखतमा मनोरञ्जनका साधनहरूको पनि पूर्वकालदेखि नै व्यवस्था गरिदै आएको हो भन्ने बुझ्न सकिन्छ । दशैको समयमा पिङको चर्चा गरिएन भने सायद यो अपुरो र अधुरो हुन्छ । गाउँका खर्कहरूमा युवाहरू मिलेर बाँसको लिङ्गे पिङ हाल्दछन् । चारवटा बाँसलाई एकापसमा छड्के पारी काठको गरालो तेर्स्याएर डोरिले बाँधिन्छ अनि अनुभवी बुढापाकाले निकै मेहनत गरेर पाट र बाबियोको लठारो(मोटो डोरी) बनाउँछन् । खुट्ट टेकेर लठारो समाई मच्चिनको लागि काम्रोको व्यवस्था गरिन्छ । यसरी पिङ बनेपछि गाउँका सबैभन्दा बुढापाका जेठाबाले पिङ खेलेर मनोरञ्जन लिन्छन् । यसपछि तरुणहरू बलको तुजुक देखाउँदै खुब मच्चिएर मनोरञ्जन लिन्छन् । केटाकेटीहरू पनि पिङमा खुबै झुम्मिन्छन् । अर्कोतिर जाँतेपिङ र रोटेपिङको खेल पनि हुन्छ । आँगनको डिल अथवा जमिनमा प्वाल पारेर ओखल बनाई नौवटा दाना ओखर हातमा लिएर ओखलमा हानिन्छ र जोर बिजोरको आधारमा हार जित छुट्याई मनोरञ्जन लिइन्छ । ईच्छा अनुसारको खेलले सबै हर्षित भएको देख्दा देवलोकको कल्पना गर्नेहरू दैवीय संसारमा डुबुल्की मारिरहेका हुन् कि जस्तो लाग्छ । यो भन्दा उल्लासमय वातावरण खोज्नेहरूलाई कतै वैराग्यताको छायाँले छोपे झै लाग्दछ । म पनि दशैंको उल्लासमय वातावरणमा निकै रोमाञ्चित भएको छु जुन मेरो मानसपटलबाट कहिल्यै मेटिदैन ।

घरदेशमा दशैंको जति महिमा छ परदेशमा बसेका नेपालीहरूको लागि कम हुँदैन । चाडपर्वको आगमन नेपालीहरूको लागि उत्साहजनक हुन्छ । चाडपर्वको आगमन भएपछि आफ्ना इष्टमित्र,दाजुभाइ र बालसखाहरूसँग गामबेसी गर्दा रमाएका घटनाहरू सम्झेर मुटुमा गाँठाेपारी आफ्ना भावनाहरू व्यक्त गर्दछन् । दौँतरीहरूसँग रमाएका क्षणहरू झलझली आँखामा आउँछ । बाध्यताको परदेशमा बसेर आनन्दको घरदेश सम्झेर धेरैले दशैं मनाउँछन् तर उनीहरूको अनुभवमा यो रङ्गहीन फूल जस्तै हो । हाम्रो देशमा संस्कृतिको चर्चा गर्ने हो भने यसलाई विषयान्तर गरेर नै चर्चा गर्नुपर्ला । नेपालका हरेक क्षेत्रले एउटा न एउटा संस्कृति ग्रहण गरेकै हुन्छ ।
यहाँ एउटा यस्तो संस्कृति छ जसको चर्चा गरिएन भने दशैंको लहरलाई छोएन कि भने जस्तो लाग्छ,त्यो हो लाहुरे संस्कृति । भनिन्छ कयौं हाम्रा पुर्खाहरू गर्दनले बाँछे,कयौं पाखुराले बाँचे । यो आहानलाई सन्ततिहरूले पनि छोडेनन् र लाहुरे संस्कृति जीवन्त भयो । यिनै लाहुरेहरू काँध ट्याङ्का बोकेर भरियालाई गुण्टा बोकाएर बेउरालीबाट गाउँ झर्दा ठूलो चर्चा हुन्थ्यो । जङ्गी पोशाकमा सजिएका लाउरेहरूलाई हेर्न सबै बाटाघाटा गल्ली, चोकमा उभिएर प्रतीक्षा गर्थे । उनीहरूको प्रवेशले गाउँमा रौनक छाउँथ्यो ।यश समयमा लाहुरेका घरमा दशैंको रौनक अझ बेग्लै हुन्थ्यो । लाहुरेसँगकाे भेट्घाटले गाउँमा सबै प्रफुल्ल भएर रमाउँथे । लाहुरेहरू गाउँमा फर्किएपछि नवीनताका तरङ्गहरू छाउँथे । जतिसुकै उल्लास र उमंगले मन भरिए पनि लाहुरेहरू आफूले जीवनमा भोगेका लडाइँ भिडाइँका तितामिठा घटनाहरू क्यानाम, लेकिन जस्ता हिन्दी विषेशक शब्द जोडेर आफ्ना दौँतरीहरूसँग चौतारीमा बसेर उगेल्थे । एक आपसमा मन साटासाट गर्थे । यो कसको दशैं हो यकिन गर्न गाह्रो हुन्थ्यो । जो जसले जसरी बुझे पनि वास्तवमा दशैं भावनाको संगम हो, उल्लासको विशाल दोभानमा हालिएको साँघु हो ।
दशैलाई प्राकृतिक दृष्टिकोणले कुनै खोट लगाउने ठाउँ छैन तर यसभन्दा पूर्वको अवस्था हामी पहाडी तथा तराई क्षेत्रमा बसोबास गर्नेहरूका लागि कहालीलाग्दो भएर बितेको हुन्छ । बर्षात्को समयमा पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानले त्राहिमाम मच्चाउँछ । कयौं दाजुभाइहरू शरणार्थीको रूपमा परिणत हुन्छन् । मनमा फुलेका भावनाका फूलहरू एक्कसी ओइलाएर जान्छन् तर पनि सहृदयता र करुणाको खडेरी यो देशमा पर्दैन । आफ्ना अफन्त र छरछिमेकीले होस्टेमा हैंसे गरेर त्यस्तो विपत्तिको सागरमा डुबेकाहरूलाई भावनाको डुङ्गाले तारेर दशैंको मूल प्रवाहमा समावेश गराउँछन् । यसरी हातेमालो गरेर बिगतको विषद घटनालाई विस्मृतिको छायाँमा पार्दछन् । यसले गर्दा त दशैं उल्लासको चाड मात्र होइन भावनाको चाड पनि हो जस्तो लाग्छ ।

हामी अधिकांश नेपालीहरू वर्गीय समाजमा हुर्किएका हुन्छौं । अनादिकालदेखि नै हाम्रो समाजमा वर्गको अस्तित्व देखिदै आएको छ जुन आज पनि विद्यमान छ । समाजमा वर्गभेदको चर्चा समाजशास्त्रीहरूले गर्दैआएको यथार्थ कसै सामु छिपेको छैन । जुनसुकै वर्ग होस् तिनले चाड मनाएकै छन् । यहाँ सम्पन्नता र विपन्न्ताका बिचमा पुल हाल्ने काम दशैंले नै गरेको छ । सम्पन्नहरू आफ्नो ढुकुटी खोलेर खर्चको चाँजाेपाँजो मिलाउँछन । विपन्नहरू जो आफ्नो चोटाकोठाबाट झिक्न सक्दैनन्, उनीहरू साहुसँग ॠण काढेर वर्षभरी लगाएर पाखुरा र पसिनाले भएपनि तिरौला भनेर घरपरिवारमा खुसियालीका किरणहरू छर्दछन् ।के गरिब, के धनी सबैले अनुभूत गर्ने त उहीँ आनन्द र उल्लास न हो । जति गरिब र दुःखी भए पनि दशैंलाई पहराको फूल टिपे झै हाम्रा दाजुभाइ-दिदीबहिनीहरू हृदयदेखि नै खुलेर मनाउँछन् । जति दु:खको सागरमा डुबे पनि दशैंरुपी मोती टिपेर नै छोड्छन् ।
जीवन र जगतको मध्यबिन्दुमा उभिएर हेर्दा दशैं न वर्गको हो न कुनै बिचारयुक्त भावनाको,यो कुनै राष्ट्रिय भावनाको चाड पो हो कि ?
दशैं सुख र दु:ख मेल हो
आत्मियता साट्न दौडिएको रेल हो ।
दशैं रातो टीका र जमराको मेल हो
नयाँ नाना र ओखरको खेल हो ।
दशैं उल्लासमय चाड हुनुका पछाडि धेरै अन्तर्निहित प्रसङ्ग र विषयवस्तुहरू जोडिएका छन् । हाम्रा हरेक चाडपर्वहरूका पछाडि अनेकौं किंवदन्ती र धार्मिक मान्याताहरूले वेष्ठित गरेको छ । त्यसैले भनिन्छ:
दशैं आशीर्वादको लहर चलाउने अपूर्व रीत हो
असत्य माथि सत्यको जीत गराउने महाकालीको गीत हो ।
दशैंको सुरुवातको सम्बन्धमा विभिन्न अवधारणा र मान्यताहरू रहेका छ्न् । चाडपर्वका पछाडि विभिन्न धार्मिक घटना र शास्त्रीय मान्यताहरू रहेका छ्न् । त्रिदेवको उत्पत्ति हुनुपूर्व यो सारा संसार अन्धाकारमय र शून्य थियो । आदिदेवीको अस्तित्व रहेको र उनकै कृपाबाट त्रिदेवको उत्पत्ति भइ संसार रचना भएको प्रसङ्ग श्रीमद्देवी भागवत महापुराण आउँछ :
ॐ पूर्णमद: पूर्णमिदम् पूर्णात् पूर्णमुदच्यते
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।
कालान्तरमा यी त्रिदेवहरू देवीकै जप गरिरहेका हुन्छन् भन्ने कुरा शास्त्रीय मत पाइन्छ ।

यिनै देवीको कालान्तरसम्म पनि पूज,पाठ,ध्यान,जप गर्ने परिपाटी चल्दै आयो । रामायणमा उल्लेख भए अनुसार भगवान श्रीरामले नवदुर्गाको आह्वान गरेर नौ दिनसम्म पूजा पाठ गरि दशाैँ दिनमा दुर्गापूजा गरि देवीको प्रसाद स्वरूप टीका ग्रहण गरेर रावणसँग युद्ध गरेर विजय प्राप्त गरेको प्रसङ्गले विजया दशमी पनि भनिएको हो भन्ने आहान छ । देवी र शक्तिको कुरा गर्ने हो भने महाभारतको युद्धपूर्व महावली अर्जुनले देवेर्को आरधना गरी आशीर्वाद प्राप्त गरेको प्रसङ्ग पनि आउँछ । अर्कोतर्फ स्कन्द पुराणको केदारखण्डमा उल्लेख भए अनुसार सतीदेवीको देहावसान भएपछि श्रीमहादेवले उनको शरीर बोकेर हिड्दा विभिन्न स्थानमा विभिन्न अङ्गहरू खसे र त्यहाँ एक एक शक्तिपीठहरू उत्पन्न भएको चर्चा पाइन्छ । त्यसैले युग युगान्तरदेखि नै शक्तिपूजाको प्रचलन चल्दै आयो ।
नेपालको किराँतकालमा प्रकृतिदेवका रुपमा पारुहाङ्गको पूजा भव्यताका साथ गरिन्थ्यो । पारु भन्नाले पार्बती देवीलाई पुजिएको भन्ने भनाई पनि छ । किराँतकालपछि नेपालमा लिच्छविकालको सुरुवात भयो ।यस समयमा पनि देवी पूजाको प्रसङ्ग बढी नै आउँछ । राजा बिक्रमादित्य बज्रयोगिनीका परम भक्त थिए र उनै देवीबाट आशीर्वाद पाएर परमवीर भएका थिए । उनै देवीको कृपाले चक्रवर्ती सम्राट बन्न पनि सफल भएका थिए । उनै राजाले नै घटस्थापना गरी नौ दिनसम्म देवीको पूजा,पाठ,आरधाना गरी दशौँ दिनको दिनमा टीका प्रसाद ग्रहण गरी आफ्ना मान्यवरसँग आशीर्वाद लिने चलन चलाएको भन्ने चर्चा इतिहासमा पाइन्छ । यसरी अनेकौं विशेषताले युक्त दशैं भव्यताकासाथ मनाईंदै आइएको छ ।
(लेखक माध्यामिक तहको शिक्षक हुनुहुन्छ)

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस