बन्धक विपिनका आमा–बहिनीले गरे इजरायली राष्ट्रपति र संसद अध्यक्षसँग भेट

नयाँ पोस्ट
२ भदौ २०८२, सोमबार

काठमाडौं, भदौ २ ।
हमासले बन्धक बनाएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको खोजी अभियानका क्रममा उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरेका छन्।

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा भएको भेटमा राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए।

भेटका क्रममा आमाले राष्ट्रपति हर्जोगसँग छोरा विपिनलाई तत्काल सुरक्षित रिहाइ गर्न विशेष पहल गर्न आग्रह गरिन्। बहिनी पुष्पाले पनि दाजुलाई नेपाल फर्काउन मानवीय आधारमा चाँडो कदम चालिदिन अनुरोध गरिन्।

राष्ट्रपति हर्जोगले विपिनलाई आफ्नै नागरिकजस्तै ठान्ने उल्लेख गर्दै सरकार निरन्तर प्रयासरत रहेको बताए। “उनको रिहाइका लागि हामी दिनरात प्रयत्न गरिरहेका छौँ,” दूतावासमार्फत राष्ट्रपति हर्जोगको भनाइ सार्वजनिक गरिएको छ। उनले सम्बन्धित अरब मुलुकहरूसँग नेपाल सरकारले पनि थप पहल गर्न सके प्रगति हुने विश्वास व्यक्त गरे।

संसद अध्यक्ष अमिर ओहानाले पनि विपिनको रिहाइका लागि प्रयास भइरहेको जानकारी दिए।

कृषि अध्ययन गर्दै ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन २०८० असोज २० गतेदेखि सम्पर्कविहीन छन्। सोही दिन हमासको आक्रमणमा अन्य १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।


धेरै पढिएको