कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

नयाँ पोस्ट
१० चैत २०८२, मंगलबार

काठमाडौँ । कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। दक्षिणतर्फ उडान भरेको केही समयमै विमान दुर्घटनाग्रस्त भएको हो।वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाका अनुसार विमानमा १ सय १४ सैनिक र ११ जना चालक दलका सदस्य सवार थिए। दुर्घटनाग्रस्त विमान अमेरिकी निर्मित C-130 Hercules थियो, जुन सैनिक ढुवानीका लागि प्रयोग हुँदै आएको थियो। बीबीसी हिन्दीका अनुसार दुर्घटना पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो नजिकै भएको हो। घटनास्थलमा खटिएका उद्धार टोलीले भग्नावशेषमा बाँचेकाहरूको खोजी कार्य जारी राखेका छन्।रक्षामन्त्री पेड्रो सान्चेजले उक्त लॉकहिड मार्टिन निर्मित विमान सैनिक बोकेर उडान भर्ने क्रममा दुर्घटनामा परेको बताएका छन्। पेरु सीमाना नजिक भएको उक्त घटनालाई उनले “देशका लागि अत्यन्त दुःखद दिन” बताएका छन्।प्रारम्भिक विवरणअनुसार विमानमा आगलागी भएपछि भित्र राखिएको गोला–बारुद विस्फोट हुँदा क्षति थप बढेको जनाइएको छ। स्थानीय सञ्चारमाध्यमले घाइते सैनिकलाई स्थानीय बासिन्दाले मोटरसाइकलमार्फत अस्पताल पुर्‍याएको दृश्य सार्वजनिक गरेका छन्।राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल ‘एक्स’मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै यस्तो दुर्घटना हुन नहुने बताएका छन्। उनले सशस्त्र बलका उपकरण तथा विमान आधुनिकीकरण योजनामा ढिलाइ हुनुमा प्रशासनिक जटिलतालाई कारणका रूपमा उल्लेख गरेका छन्।


धेरै पढिएको