एजेन्सी
२० फागुन २०८२, बुधबार

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । हिन्द महासागर क्षेत्रमा तनाव चुलिएको छ। अमेरिकाले श्रीलंका नजिकै गस्तीमा रहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको पुष्टि भएको छ। श्रीलंकाली सरकारी स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनामा कम्तीमा ८० इरानी नौसैनिकको ज्यान गएको छ।

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले अमेरिकी पनडुब्बीमार्फत टर्पेडो प्रहार गरी उक्त जहाजलाई निशाना बनाइएको बताएका छन्।

श्रीलंकाली नौसेनाले दुर्घटनास्थलबाट ३२ जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। करिब १८० जना सवार रहेको जहाजबाट अन्य बेपत्ता सैनिकहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

घटना दक्षिणी श्रीलंकाको गाले सहरबाट करिब ४० समुद्री माइल टाढा, हिन्द महासागरमा भएको बताइएको छ। स्थानीय समयअनुसार बिहान ६ देखि ७ बजेको बीचमा सहायता सन्देश प्राप्त भएको श्रीलंकाली अधिकारीहरूले जानकारी दिएका छन्।

उक्त युद्धपोत गत महिना भारतको विशाखापट्टनममा आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय फ्लिट रिभ्यूमा सहभागी भएर फर्कँदै थियो।

यस घटनापछि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति समीकरणमा थप तनाव उत्पन्न हुने विश्लेषण गरिएको छ। हिन्द महासागर क्षेत्रमा बढ्दो सैन्य गतिविधिले दक्षिण एसियाली सुरक्षा वातावरणलाई थप जटिल बनाएको टिप्पणी कूटनीतिक वृत्तमा गरिएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।


धेरै पढिएको