सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, किन बढिरहेको छ ?
२८ पुस, काठमाडौं । सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा दुवै धातुको भाउले नयाँ रेकर्ड बनाएपछि त्यसको सिधा असर नेपाली बजारमा देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तोकेको छ । यो अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँ बढी हो । आइतबार प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि उल्लेख्य रूपमा बढेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनभन्दा २ सय ५ रुपैयाँ बढी हो । आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव
अन्तर्राष्ट्रिय बजारमा सोमबारको कारोबारका क्रममा सुनको मूल्य प्रतिऔंस ४ हजार ५ सय ५० अमेरिकी डलर नाघेको छ । त्यस्तै, चाँदी प्रतिऔंस ८३ डलरभन्दा माथि पुगेको छ । (एक औंस बराबर २.४३ तोला हुन्छ।)
अन्तर्राष्ट्रिय बजारमै मूल्य आकासिँदा नेपाली बजारमा त्यसको प्रत्यक्ष असर पर्ने गर्छ ।
किन बढिरहेको छ भाउ ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय तनाव र द्वन्द्वको जोखिम नै सुन र चाँदी महँगिनुको मुख्य कारण हो ।
‘जहिले पनि विश्वव्यापी तनाव बढ्दा लगानीकर्ताहरू सुरक्षित लगानीको रूपमा सुन र चाँदीतर्फ आकर्षित हुन्छन्,’ उनले भने, ‘अहिले पनि यही कारणले माग र मूल्य दुवै बढेको छ।’
उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका गतिविधि र अभिव्यक्तिले विश्व राजनीति थप अस्थिर बनेको छ । भेनेजुएला कब्जा गरेको दाबी, इरान र ग्रिनल्यान्डसहित विभिन्न मुलुकलाई दिइँदै आएको धम्की तथा रुससँग तेल खरिद गर्ने भारतलगायत देशहरूलाई ५०० प्रतिशत ट्यारिफ लगाउने चेतावनीले अन्तर्राष्ट्रिय तनाव चुलिएको छ ।
यसले सम्भावित द्वन्द्वको डर बढाउँदा विभिन्न केन्द्रीय बैंक, वित्तीय संस्था तथा लगानीकर्ताहरू सुन र चाँदीमा लगानी बढाइरहेका छन् । माग बढेसँगै अन्तर्राष्ट्रिय कमोडिटी बजारमा मूल्य उकालो लागेको र त्यसको प्रभाव नेपाली बजारमा देखिएको बज्राचार्यको भनाइ छ ।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस