लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण, संयुक्त राष्ट्रसंघद्वारा निन्दा
नयाँ पोस्ट
२६ चैत, काठमाडौं — संयुक्त राष्ट्रसंघ ले इजरायल द्वारा लेबनान मा गरिएको तीव्र हवाई आक्रमणको कडा निन्दा गर्दै तत्काल युद्ध रोक्न आग्रह गरेको छ।
बुधबार भएको आक्रमण विशेषगरी भयावह बनेको छ, जहाँ मात्र १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण गरिएको बताइएको छ। लेबनानस्थित संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता अधिकारी इमरान रिजा ले यसलाई “अत्यन्त नाटकीय र भयावह” अवस्था भएको टिप्पणी गरेका छन्।
उनका अनुसार राजधानी बेरुतसहित दक्षिणी क्षेत्रहरूमा घण्टौँसम्म विस्फोट र एम्बुलेन्सका साइरन गुन्जिएका थिए। आक्रमण सुरु हुनुअघि नै एक क्याफेमा भएको हमलामा कम्तीमा ८ जनाको मृत्यु भएको थियो भने त्यसपछि थप दर्जनौँ विस्फोट भएका थिए। समाचार एजेन्सी रोयटर्स का अनुसार पछिल्लो आक्रमणमा मात्रै २५० भन्दा बढी मानिसको मृत्यु भएको छ। यद्यपि, वास्तविक हताहत संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
संयुक्त राष्ट्रसंघले दुवै पक्ष—इजरायल र हेजबुल्लाह—लाई अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र तत्काल मानवीय सहायता मार्ग खुला गर्न आह्वान गरेको छ।
मार्च २ देखि सुरु भएको द्वन्द्वयता हालसम्म करिब १,५०० जनाको ज्यान गइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ, जसमा १३० बालबालिका पनि छन्। साथै, सयौँ बालबालिका घाइते भएका छन्।
लगातारको बमबारी र विस्थापनको चेतावनीका कारण करिब १२ लाख मानिस घर छोड्न बाध्य भएका छन्, जुन लेबनानको कुल जनसंख्याको झण्डै २० प्रतिशत हो। हजारौँ परिवार विद्यालय र अस्थायी आश्रयस्थलमा बसिरहेका छन् भने धेरैजसो आधारभूत सेवाबाट वञ्चित छन्। इमरान रिजाले सर्वसाधारणमाथि परेको असर अत्यन्त गम्भीर रहेको उल्लेख गर्दै तत्काल तनाव अन्त्य गरी वार्तामार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
उनले भने, “अबको समय युद्ध चर्काउने होइन, संवादमार्फत समाधान खोज्ने हो—स्थायी युद्धविरामतर्फ अघि बढ्नैपर्छ।”




प्रतिक्रिया दिनुहोस