चिकित्सक संघको आन्दोलन : आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द
नयाँ पोस्ट
१२ साउन २०८३, मंगलबार
काठमाडौं, साउन १२ — नेपाल चिकित्सक संघ ले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिका घटनाको विरोधमा मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले सोमबार जारी गरेको विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र राज्य पक्षबाट भएको भनिएको दुर्व्यवहारको विरोधस्वरूप देशभर आन्दोलनका कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। यसअन्तर्गत मंगलबार सबै अस्पतालमा आकस्मिक सेवा बाहेकका ओपीडी तथा नियमित स्वास्थ्य सेवा स्थगित गरिएको हो।
संघका अनुसार साउन ९ गते नारायणी अस्पताल मा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण र अस्पतालमा तोडफोड भएको थियो। घटनामा संलग्नलाई कानुनअनुसार कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा समेत चिकित्सकहरूमाथि दुर्व्यवहार भएको आरोप संघले लगाएको छ।
संघले केन्द्रीय कार्यकारिणी सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरूमाथि अभद्र व्यवहार गरिएको दाबी गर्दै चिकित्सक डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको जनाएको छ।
नेपाल चिकित्सक संघले घटनामा संलग्न व्यक्तिहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कारबाही गर्न, साथै घटनासँग सम्बन्धित पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि आवश्यक छानबिन र कारबाही गर्न माग गरेको छ।
संघले बुधबार सर्वपक्षीय भेला आयोजना गरी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ। साथै आकस्मिकबाहेकका सेवा बन्द हुँदा बिरामीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै यसको जिम्मेवारी सरकारको भएको दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस