चट्याङसहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
नयाँ पोस्ट
१४ साउन २०८३, बिहिवार
काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ।
महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ।
कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन–चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना छ।
महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी, खोलानाला आसपासका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस